बुटवल । रुपन्देहीको बुटवलमा राधा नेपालले विगत तीन वर्षदेखि अटोरिक्सा चलाएर आफ्नो जीविकोपार्जन गरिरहेकी छिन् । बिहान छोराछोरीलाई विद्यालय पुर्याएर सुरु हुने उनको दैनिकी साँझ ७ बजेसम्म अटोरिक्साको स्टेयरिङमै बित्छ । यही पेशा उनको आम्दानीको एकमात्र स्रोत हो, जसले उनको घरखर्च र बालबच्चाको पढाइ धानेको छ ।
‘यो अटो चलाउन थालेको तीन वर्ष पूरा भएर चार वर्ष लाग्यो,’ मुहारमा मुस्कान छर्दै राधाले भनिन्, ‘मेरो अरु कुनै पेशा छैन, यही नै हो मुख्य आम्दानीको स्रोत ।’ उनी बिहान १० बजे छोराछोरीलाई विद्यालय छोडेपछि यात्रु बोक्न सुरु गर्छिन् र दिउँसो ३ बजे फेरि उनीहरूलाई लिन जान्छिन् । त्यसपछि पुनः साँझसम्म यात्रु ओसार्ने काममा खटिन्छिन् ।
सुरुवाती दिनहरूमा सहज भए पनि पछिल्लो समय अटोरिक्साको संख्या बढेसँगै प्रतिस्पर्धा पनि बढेको उनको अनुभव छ । ‘पहिले त यसैबाट पनि राम्रै हुन्थ्यो,’ उनले थपिन्, ‘अहिले अलि गाह्रो छ। अटोरिक्सा धेरै भए, प्रतिस्पर्धा बढेको छ ।’ दैनिक हजारदेखि पन्ध्र सयसम्म आम्दानी हुने भए पनि गाडीको मर्मतसम्भार, तेल खर्च र बाटोको अवस्थाले कहिलेकाहीँ आम्दानीभन्दा खर्च बढी हुने गरेको उनको गुनासो छ ।
बुटवलमा उनीजस्तै करिब २५ देखि ३० जना महिला अटोरिक्सा चालक रहेको उनी बताउँछिन् । पुरुषहरूको बाहुल्यता रहेको यस पेशामा महिलाहरूले पनि आफ्नो स्थान बनाउँदै लगेका छन् । यद्यपि, कहिलेकाहीँ असहजता महसुस नहुने भने होइन । ‘त्यस्तो खासै असहज त अहिलेसम्म भएको छैन, सबै ठीकै छ, राम्रै छ,’ उनले भनिन् ।
अटोरिक्सा व्यवसायमा देखिएको बढ्दो प्रतिस्पर्धा र अव्यवस्थापनप्रति भने उनको चिन्ता छ । ‘स्थानीय सरकारले बाहिरका र बिना दर्ताका अटोरिक्सालाई नियन्त्रण गर्नुपर्छ,’ उनले माग गरिन्, ‘नयाँ अटोरिक्सा खरिद-बिक्री र दर्ता प्रक्रियालाई व्यवस्थित नगर्ने हो भने हामी पुराना चालकलाई झन् गाह्रो हुन्छ ।’ नगरपालिकाले दर्तावालालाई मात्र चलाउन दिने र बिना दर्ताकालाई नदिने नीति लिएको सुने पनि कार्यान्वयन पक्ष फितलो भएको उनको बुझाइ छ ।



