काठमाडौं । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका दलहरूले गर्दै आएको संसद् अवरोध अन्त्यका लागि माओवादी केन्द्रले लचकता अपनाउने सङ्केत गरेको छ । बिहान बसेको पार्टीको पदाधिकारी बैठकले संसद्को गतिरोध अन्त्य गर्न ‘सिर्जनात्मक र रचनात्मक’ ढंगले प्रस्तुत हुँदै अधिकतम प्रयास गर्ने निर्णय गरेको हो ।
यो निर्णयले बजेटजस्तो महत्वपूर्ण विषयमाथिको छलफल रोकिएको वर्तमान अवस्थामा निकासको आशा देखाएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड दिनेछौँ । निकास निकाल्नका लागि सिर्जनात्मक, रचनात्मक ढंगले लाग्नेछौँ ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको आरोप लगाउँदै उनको राजीनामाको मागसहित नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । यही अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको महत्वपूर्ण छलफलसमेत प्रारम्भ हुन सकेको छैन, जसले मुलुकको आर्थिक कार्यतालिका नै प्रभावित हुने जोखिम बढाएको छ ।
यद्यपि, माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने आफ्नो मुख्य मागबाट भने पछि नहट्ने स्पष्ट पारेको छ। प्रवक्ता सापकोटाले भने, ‘भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो । त्यसका लागि सरकारले कस्तो वातावरण बनाउँछ, त्यसअनुसार हामी अघि बढ्नेछौँ ।’




