काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले आगामी सोमबार (जेठ १९ गते)देखि देशभर अनिश्चितकालीन सवारी साधन बन्द गर्ने निर्णय गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा लिइएको आन्दोलन अन्तर्गत सबै सार्वजनिक सवारी ग्यारेजमै थन्क्याइने घोषणा गरिएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीप्रति आपत्ति जनाउँदै सो नियम खारेजीको माग गर्दै आन्दोलन सुरु गर्न लागिएको हो। व्यवसायीहरू निजी प्रयोजनका लागि खरिद गरिएका सवारीहरूलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्न दिने व्यवस्थाले सार्वजनिक यातायातको अस्तित्वमाथि नै संकट पर्ने ठान्दछन्।
“सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराएर पनि माग सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनको बाटो रोजिएको हो,” अध्यक्ष राईले जानकारी दिए। उनले जनताको सेवामा समर्पित सार्वजनिक यातायात क्षेत्रलाई संरक्षण गर्न माग गर्दै, सरकार गम्भीर नबने अझै कडा संघर्षको चेतावनीसमेत दिए।
यसैबीच, संघर्ष समितिले आइतबार जारी गरेको विज्ञप्तिमा बन्दका कारण पर्न सक्ने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “जनता, मजदुर, कर्मचारी तथा यात्रु सबैको सहानुभूति र सहयोगको अपेक्षा गर्दै सार्वजनिक यातायात जोगाउने हाम्रो प्रयासमा सबै क्षेत्रको साथ–सहयोगको हार्दिक अपिल गर्दछौं।”




