कांग्रेसलाई प्रधानमन्त्रीको सुझाव- घरझगडा आँगनमा नदेखाउनुस्, छिमेकीलाई डिस्टर्ब नगर्नुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूलाई पार्टीभित्रका आन्तरिक मतभेद र विवादलाई सार्वजनिक रूपमा छताछुल्ल नपार्न कडा शब्दमा सुझाव दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीका आन्तरिक विषयलाई सार्वजनिक बहसमा ल्याएर अनावश्यक झैझगडा र तमासा नगर्न आग्रह गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भिजिट भिसा प्रकरणमा मुछ्दै कांग्रेसकै केही नेताहरूले उनको राजीनामा मागिरहेको विवादास्पद सन्दर्भलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलका नेताहरूप्रति लक्षित गरी यो कटाक्षपूर्ण अभिव्यक्ति दिएका हुन् ।

उनले हरेक राजनीतिक दलभित्र समस्याहरू हुन सक्ने स्वाभाविक प्रक्रिया भए पनि त्यसको समाधान पार्टीको आन्तरिक संयन्त्रबाटै खोजिनुपर्नेमा जोड दिए । ‘पार्टीभित्र केही समस्या हुन सक्छन् । त्यो सम्बन्धित पार्टीको नितान्त आन्तरिक मामिला हो । व्यक्तिगत ‘लाइक, डिस्लाइक’ भन्दा पनि पार्टीभित्रका कतिपय वैयक्तिक आकांक्षाहरू, ध्रुवीकरण वा अन्य कुनै कारणले यस्ता मतभेदहरू देखिन सक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, जुनसुकै दल र त्यसका नेताहरूले, चाहे त्यो मेरो पार्टी होस् वा अर्को कुनै पार्टी, आफ्नो घरझगडा घरभित्रै बसेर मिलाउनुपर्छ । आँगनमा निस्किएर तमासा गर्दै छिमेकीलाई डिस्टर्ब गर्नु किमार्थ उचित होइन ।’

‘तपाईंको घरभित्र झगडा छ भने घरभित्रै बसेर मज्जाले गर्नुस्, तर घरभित्रै कुटाकुट चाहिँ नगर्नुहोला । तर, आँगनमा निस्किएर वल्लो घर, पल्लो घरका छिमेकी सबैको काममा बाधा पुऱ्याउने र वातावरण अशान्त बनाउने काम नगर्नुस् ।’ उनले थपे, ‘के भयो, के-के न होला भनेर छिमेकीले सतर्क भएर हेर्नुपर्ने, कतै कुटाकुट वा मारामार नै गरे भने छुट्याउन जानुपर्ने अवस्था सिर्जना गर्नु राम्रो होइन । त्यसैले, आँगनमा निस्किएर झगडा गर्नु शोभनीय हुँदैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री