काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई दिइएको प्राथमिकता र नीतिगत स्थायित्वको स्वागत गरेको छ । तर, आन्तरिक दहन इञ्जिन (ICE) तथा हाइब्रिड सवारी साधनबारे बजेट मौन रहेको भन्दै दीर्घकालीन दृष्टिकोणको माग पनि राखेको छ ।
जारी विज्ञप्तिमा नाइमाले यस वर्ष अटोमोबाइलमा लाग्ने करका दर यथावत् राखिएको तथा विशेषतः विद्युतीय सवारी साधनमाथिको कर संरचना यथास्थितिमा राखिएको नीतिलाई सकारात्मक बताएको छ । यसले व्यवसायमा स्थायित्व ल्याउने विश्वास व्यक्त गर्दै, विद्युतीय सवारीलाई प्रोत्साहन गर्न हाल कायम व्यवस्था निरन्तर रहनु वातावरण संरक्षण र दिगो विकासका दृष्टिले सहायक हुने नाइमाको भनाइ छ ।
चार्जिङ मेसिनको एसेम्बलिङ उद्योगका लागि १ प्रतिशत भन्सार महसुलको व्यवस्था र सवारी फिटनेस परीक्षण केन्द्र स्थापना गर्न सरकारले लिएको नीति पनि स्वागतयोग्य भएको नाइमाले उल्लेख गरेको छ । तर, विज्ञप्तिमा अहिलेको ICE सवारी साधनमा कायम अत्यधिक कर पुनःसंरचना गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, विद्युतीय मोबिलिटी अन्तर्गत हाइब्रिड र प्लग-इन हाइब्रिड सवारीमा कुनै पनि कर छुट वा प्रोत्साहन नदिएको भन्दै नाइमाले निराशा व्यक्त गरेको छ । ‘मेक इन नेपाल’ अभियान अन्तर्गत स्थानीय उत्पादन प्रवर्द्धनका लागि कर छुट र लगानीमैत्री नीतिको अभाव भएको पनि उसले औंल्याएको छ ।
नाइमाले सरकारसँग दीर्घकालीन, स्थायी र दिगो अटो नीति निर्माण गर्न आग्रह गर्दै आगामी दिनमा छुटेका पक्ष समेटिने अपेक्षा राखेको छ ।



