संखुवासभामा शिक्षिका र नवजात शिशु मृत फेला

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका-११ लुहाकोटमा एक शिक्षिका र उनकी ७२ दिनकी छोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । स्थानीय सामुदायिक विद्यालयकी स्थायी शिक्षिका ४२ वर्षीया सीता खनाल र उनकी नवजात छोरी बुधबार दिउँसो घरको सुत्ने कोठाभित्र मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतका अनुसार, सीता सुत्केरी बिदामा घरमा बसिरहेकी थिइन् । प्रारम्भिक अनुसन्धानले आमाले नै छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिएको उनले बताए । ‘अहिलेसम्मको अनुसन्धानबाट आमाले नै छोरीको हत्यापछि आत्महत्या गरेको जस्तो देखिएको छ,’ डीएसपी बस्नेतले भने, ‘घटनाका सम्बन्धमा हामी थप अनुसन्धानकै क्रममा छौँ ।’

मृतक महिलाका पति कृष्णप्रसाद त्रिताल स्थानीय माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी व्यवस्थापन समितिको बैठकका लागि विद्यालय गएको बेला घटना भएको प्रहरीले जनाएको छ । कृष्णप्रसाद अध्यक्ष रहेको विद्यालय र उनकी पत्नीले पढाउने विद्यालय फरक-फरक हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप