महेन्द्र राजमार्गमा बाढीको कहर: डाइभर्सनहरू बगाउँदा यातायात ठप्प, हजारौं यात्रु अलपत्र

काठमाडौं । नवलपरासी । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा निर्माण गरिएका वैकल्पिक सडक (डाइभर्सन) बिहीबार रातिको अविरल वर्षापछिको बाढीले बगाउँदा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ । राजमार्गका मुख्य विन्दुहरू चोरमारा, दुम्किबास र दाउन्ने क्षेत्रमा डाइभर्सन बगाएपछि हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् भने सयौं सवारी साधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकखण्डका डाइभर्सनहरू बाढीले बगाएका कारण यातायात अवरुद्ध भएको हो । उनले ती स्थानमा वैकल्पिक सडक पुनर्निर्माणको काम शुक्रबार बिहानबाट सुरु भए पनि निरन्तरको वर्षाले कठिनाइ उत्पन्न गराएको बताए ।

यसैगरी, बर्दघाट बजारबाट करिब ५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिनअघि मात्र निर्माण गरिएको डाइभर्सन पनि बाढीले बगाएको छ । सोही स्थानमा बाढीले तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको पिकअप भ्यानसमेत बगाएको छ ।

फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालले बिहान सवा २ बजेबाट राजमार्गमा यातायात ठप्प भएको जानकारी दिए । उनका अनुसार मानवीय क्षति भने भएको छैन, तर राजमार्ग खुलाउने प्रयास वर्षाका कारण चुनौतीपूर्ण बनेको छ ।

त्यस्तै, महेन्द्र राजमार्ग अन्तर्गत चोरमारास्थित फलामे पुल यसअघि नै भाँचिएपछि बनाइएको अस्थायी सडक पनि बाढीले बगाएको छ । उता, दुम्किबासस्थित विनयी खोलाको पुल क्षतिग्रस्त हुँदा निर्माण गरिएको डाइभर्सन पनि बाढीको चपेटामा परेको छ ।

दाउन्ने र आसपासको क्षेत्रमा बिहीबार रातभरि हल्का वर्षा जारी रहेको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्वपश्चिम हिँडेका सयौं सवारी साधन चोरमारा र बर्दघाट क्षेत्रमा रोकिएका छन्, जसले गर्दा यात्रुहरूले चरम सास्ती बेहोर्नुपरेको छ । सम्बन्धित निकायले राजमार्ग सुचारु गराउन प्रयास जारी राखेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री