काठमाडौं । सत्तारुढ नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ । उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।
भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपालगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ । प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ । एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो । एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरू गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले प्रदर्शनलाई मुठभेडमा परिणत हुने नदिने र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
त्यसअघि आजै बिहान सैनिक मञ्च, टुँडिखेलमा गणतन्त्र दिवसको कार्यक्रम भइरहेको छ । आजका विभिन्न कार्यक्रमका कारण बिहानैदेखि काठमाडौं उपत्यकाका केही ठाउँको ट्राफिक आवागमन प्रभावित भएको छ । राप्रपाले २ बजेपछि गर्ने भनिएको रत्नपार्क केन्द्रित प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई शान्तिबाटिकाबाट अगाडि बढ्न नदिने सुरक्षा नीति छ।
त्यसको व्यवस्थापन जिल्ला प्रहरी परिसर, काठमाडौंले गर्ने भएको छ । गणतन्त्र दिवस लक्षित विभिन्न कार्यक्रमका कारण आज बिहान १० बजेदेखि सैनिक मञ्च, टुँडिखेल वरिपरिको सडकमा ट्राफिक डाइभर्सन गरिएको छ ।




