काठमाडौँ । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सशस्त्र संघर्षको संयुक्त उपलब्धिका रूपमा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरेको आज १८ वर्ष पूरा भएको छ। वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो ऐतिहासिक बैठकले २४० वर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। सोही अविस्मरणीय दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको छ।
जेठ १५ गतेकै दिन नेपाली जनताले स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वाेच्चता प्राप्त गरेका थिए। यो दिवस वंशीय शासन प्रणालीलाई जनताले परास्त गरेको एक महत्वपूर्ण उत्सव पनि हो। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्य निर्माणका लागि एकताबद्ध भएर अगाडि बढ्न आम नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नागरिकका आधारभूत आवश्यकताहरू – शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै गरिबीको अन्त्य गर्नु र विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउनु नै लोकतान्त्रिक गणतन्त्रको प्राथमिक कार्यभार हो।
जनअपेक्षा र जनभावनाअनुरूप चल्नु गणतान्त्रिक संविधानको मूल मर्म हो। यो केवल एक राजनीतिक व्यवस्था मात्र नभई, एक उन्नत शासकीय पद्धति र जीवनशैली पनि हो, जसलाई उदारवादी आदर्शको उच्चतम उपजका रूपमा लिइन्छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थाहरूमध्ये लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनस्तरमा सुधार ल्याउने र राष्ट्रको समृद्धि हासिल गर्ने सबैभन्दा उत्तम र बलियो अस्त्र मानिन्छ।
यसैबीच, १८औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभावहरूको सहभागिता रहनेछ।
यस अवसरमा गौरवमय परिवर्तनका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अमर शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका निम्ति संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको विशेष स्मरण गरिनेछ। मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलन र संघर्षहरूमा अनगिन्ती नेपालीले जेलनेल र कठोर यातना सहेका थिए। विभिन्न राजनीतिक दलका नेताहरूले लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै उनीहरूको जीवनमा खुसी भर्ने अभियानमा जुट्न आजको दिनले थप प्रतिबद्धता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनीहरूले लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको औंल्याएका छन्। आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने सन्ततिलाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति हस्तान्तरण गर्ने संकल्प आजको दिनले गराएको सन्देशहरूमा उल्लेख छ।
जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरूप एकढिक्का र एकीकृत भई अघि बढ्न सके मात्र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्नेछ। तथापि, समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैलीको विकास गरी नागरिक स्तरमा गणतन्त्रलाई संस्थागत गर्ने जागरण पैदा गराउनु भने अझै आवश्यक देखिएको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणको मूल प्रवाहमा समेट्न सक्नुपर्ने आजको प्रमुख आवश्यकता हो।




