काठमाडौं । भिजिट भिसा र अध्यागमन दुरुपयोग गरी हुने मानव तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले गर्दै आएको संसद् अवरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ । बैठक सुचारु गर्ने वातावरण बनाउन सभामुख घिमिरेले साढे १० बजे संसद् भवन नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतक तथा सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । सभामुखको सचिवालयले भन्यो, ‘११ बजे संसद् बैठक छ । त्यसअघि साढे १० बजे सभामुखज्यूले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।’
मंगलबार प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध पारेका थिए । उनीहरूले आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने अडान लिएका थिए । सोही कारण मंगलबार दिउँसो साढे २ बजेका लागि पुनः बोलाइएको बैठक पनि दलहरूबीच सहमति जुट्न नसक्दा बुधबार ११ बजे बस्ने गरी सूचना टाँस गरी स्थगित भएको थियो ।



