गभर्नर पौडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिसम्बन्धी रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ । पौडेल नियुक्त भएको दोस्रो दिनमै दर्ता गरिएको उक्त रिट मंगलबार सूचीमा परेपछि आजका लागि पेसी तोकिएको हो ।

रिट दर्ताका एकजना कानुनी अभियन्ता अधिवक्ता अनन्त लुइँटेलले सर्वोच्च प्रशासनले बुधबारका लागि सुनुवाइको मिति तय गरेको जानकारी दिए । पाँच दिनको अध्ययन र कानुनी छलफलपछि मंगलबार मात्र औपचारिकरूपमा रिट दर्ता गरिएको थियो ।

रिट निवेदनमा पौडेलको गभर्नर नियुक्ति प्रक्रिया नै शंकास्पद शैलीमा सम्पन्न भएको दाबी गरिएको छ । गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेल आफैं सिफारिस भई नियुक्त भएको प्रसंगलाई ‘म्याच फिक्सिङ’ शैलीमा गरिएको अपारदर्शी नियुक्तिको संज्ञा दिँदै सुशासनको खिल्ली उडाइएको आरोप लगाइएको छ ।

राष्ट्र बैंक ऐनले निर्धारण गरेको शैक्षिक योग्यता नपुगेको, सम्बन्धित विषयमा अध्ययन अनुभव नभएकोजस्ता विषयसमेत उठाउँदै नियुक्ति बदरको माग गरिएको छ । रिट निवेदकहरूले गभर्नरको रूपमा पौडेलको निरन्तरता संविधान र कानुनविपरीत भएको जिकिर गर्दै तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । डा. पौडेल जेठ ६ गते राष्ट्र बैंकको १८ औं गभर्नरका रूपमा नियुक्त भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री