काठमाडौँ । जीवन विज्ञान प्रतिष्ठानमा आयोजित दुई दिवसीय ‘जीवनशैली विज्ञान’ कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । जीवनलाई थप सरल, सहज, स्वस्थ र सकारात्मक बनाउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षकहरू रमेश गुरु र भानु गुरुले सहभागीहरूलाई जीवनलाई सार्थक र आनन्दमय बनाउन उपयोगी विभिन्न विधिहरूको सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । उहाँहरूले तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास, स्वस्थ खानपान, शारीरिक व्यायाम र ध्यानका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य अभिवृद्धि गर्ने कलाबारे गहन प्रशिक्षण दिनुभएको थियो ।
दुई दिनसम्म सञ्चालित उक्त विशेष कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, प्रतिष्ठित डाक्टर, इन्जिनियर, स्थापित लेखक, पत्रकार, बैङ्कर, सफल उद्योगी, व्यवसायीलगायत समाजका विभिन्न क्षेत्रका प्रबुद्ध पेशाकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रम अत्यन्त फलदायी रहेको र यसले आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
यस प्रकारका कार्यक्रमले व्यस्त जीवनशैलीका बीच सन्तुलन कायम राख्न, मानसिक शान्ति प्राप्त गर्न र समग्र कल्याण अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठानले जनाएको छ ।





