मानसिक रुपमा अस्वस्थ भएपछि खोरमा राखिएका पाँचथरका बालकको उपचार सुरु (भिडियो)

काठमाडौँ । पाँचथरमा करिब एक महिनादेखि बाँसको खोरमा थुनिएका ८ वर्षीय बालकको हाल ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय महिला आयोगकी माननीय कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल खतिवडाको विशेष पहलमा उनको उद्धार गरी काठमाडौँ ल्याएर उपचार सुरु गरिएको हो ।

मानसिक तथा शारीरिक रूपमा अपाङ्गता भएका उनलाई सुरक्षाको कारण देखाउँदै खोरमा राखिएकाे थियाे । पत्रकार मीनकुमार राईले उनको अवस्थाबारे भिडियो सार्वजनिक गरेपछि यो विषयले राष्ट्रिय ध्यानाकर्षण गरेको थियो । सोही क्रममा थप समन्वय र सहयोग जुटाई कार्यवाहक अध्यक्ष कुमारी पौडेल खतिवडाको सक्रियतामा उनलाई पाटन अस्पतालमा भर्ना गरी विशेषज्ञ चिकित्सकद्वारा उपचार अघि बढाइएको छ ।

परिवारका अनुसार, खोरमा राख्नुअघि करिब दुई वर्षसम्म युगेनको खुट्टा बाँधेर राखिएको थियो । छोरा भागेर भिर-पहराबाट लड्ने वा सवारी दुर्घटनामा पर्ने डरले असुरक्षित महसुस गरी सुरक्षित राख्ने प्रयासस्वरूप खोर निर्माण गरेको उनीहरूले बताएका थिए । आर्थिक अभाव र जनचेतनाको कमीले छोराको उचित स्याहार र नियमित उपचार गर्न नसकेको उनीहरूको भनाइ थियो ।

बालकले भोक लाग्दा ‘माम’ र तिर्खा लाग्दा ‘ओ-ओ’ भनेर इसारा गर्ने गरेका छन् । जन्मँदा सामान्य रहे पनि केही महिनापछि मात्रै बस्न थालेका युगेन प्रायः सुतिरहन्थे ।

कार्यवाहक अध्यक्ष पौडेल खतिवडाले बालकको सम्पूर्ण उपचार प्रक्रियामा आयोगको तर्फबाट निरन्तर निगरानी र आवश्यक सहयोग रहने बताइन् । अस्पतालमा उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र चाँडै डिस्चार्ज हुने आशा परिवारले राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री