काठमाडौँ । नागरिक लगानी कोष र पोखरास्थित रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी एक महत्वपूर्ण सम्झौता भएको छ । उक्त सम्झौताले कोषमा आबद्ध कर्मचारी, सञ्चालकहरू र उनीहरूका आश्रित परिवारका सदस्यहरूलाई पोलिक्लिनिकबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुटको व्यवस्था गरेको छ ।
सम्झौतापत्रमा नागरिक लगानी कोषका तर्फबाट पोखरा शाखाका प्रमुख नवराज गौतम र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरका तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार, कोषका कर्मचारी, सञ्चालक र उनीहरूका परिवारका सदस्यहरूले रत्न पोलिक्लिनिकमा उपचार गराउँदा प्रयोगशाला (ल्याब) परीक्षण, बेड शुल्क, फार्मेसी (औषधि), अल्ट्रासाउण्ड, इसिजी र एक्सरे लगायतका विभिन्न सेवाहरूमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
यो सम्झौताले नागरिक लगानी कोषका कर्मचारीहरूको स्वास्थ्य कल्याणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । कोषले आफ्ना कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै यस्ता सहुलियतपूर्ण व्यवस्थाहरू गर्दै आएको जनाएको छ ।




