काठमाडौं । धानुषाको जनकपुरधाम उपमहानगरपालिकामा सडकमा छाडा छोडिएका दुई साँढे एकआपसमा जुधिरहेको बेला स्कुटरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका-७ निवासी ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहका अनुसार, राइन मधेश प्रदेश ०२-००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम-६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ जाँदै थिए । सोही क्रममा आइतबार राति करिब साढे ८ बजेतिर सडकमा जुधिरहेका साँढेसँग उनको स्कुटर अचानक ठोक्किन पुगेको थियो ।
साँढेको जुधाइको चपेटामा परेर गम्भीर घाइते भएका उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लागि पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । जनकपुरधाम क्षेत्रमा छाडा चौपाया, विशेषगरी साँढेको आतंकले बेलाबेलामा सर्वसाधारण त्रसित बन्दै आएका छन् ।



