काठमाडौं । ड्युक विश्वविद्यालय (अमेरिका) र त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) का विद्यार्थीहरूले भूकम्प प्रारम्भिक चेतावनी (Early Earthquake Warning – EEW) प्रणालीमा वर्षभर गरेको अन्तरविषयगत अनुसन्धान प्रस्तुत गरेका छन्।
२०७८ सालदेखि निरन्तर भइरहेका अनुसन्धान गतिविधिको चौथो शृंखलाअन्तर्गत प्रस्तुत गरिएको यो अध्ययन २०८२ जेठ ९ गते, शुक्रबार, काठमाडौंस्थित होटल हिमालयको स्काइलाइन हलमा आयोजित संगोष्ठीमा प्रस्तुत भएको हो। दिउँसो १२ बजेबाट सुरु भएको कार्यक्रम अपराह्न ४ बजेसम्म सञ्चालन भयो।
संगोष्ठीमा प्रस्तुत अनुसन्धानहरूले EEW प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि प्रविधि, सामाजिक विज्ञान, सार्वजनिक नीति, डाटा विज्ञान, भूकम्प इन्जिनियरिङ र भूगर्भशास्त्रबीचको अन्तरसम्बन्ध र सहकार्य अनिवार्य हुने देखाएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार केवल प्रविधिक दृष्टिले सक्षम प्रणाली विकास गर्नु मात्र पर्याप्त हुँदैन; नीति निर्माण र जनचेतनाको अभावमा यस्ता प्रणाली प्रभावहीन बन्न सक्छन्।
विद्यार्थीहरूले डाटा विज्ञान र इन्टरनेट अफ थिङ्समा भएको प्रगतिले EEW प्रणाली विकासका उपकरणहरूलाई थप सुलभ बनाएको उल्लेख गर्दै, प्रविधिसँगै समाजिक र राजनीतिक पक्षमा समेत स्पष्टता आवश्यक रहेको धारणा राखे।
‘भूकम्प पूर्व चेतावनी प्रणालीको अध्ययन र यसको नीति निर्माण तहमा समावेशीकरण महत्वपूर्ण छ, जसले दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरणमा योगदान दिन सक्छ,’ ड्युक विश्वविद्यालयका सिभिल तथा वातावरणीय इन्जिनियरिङ विभागका प्राध्यापक डा. हेनरी ग्याभिनले बताए।
कार्यक्रम ‘काठमाडौं जियो ल्याब’ अन्तर्गत सम्पन्न भएको हो, जुन ड्युक विश्वविद्यालय र आईओई बीच २०१९ मा भएको समझदारीअनुसार स्थापित सहकार्य हो। यो प्रयोगशालाको उद्देश्य EEW प्रणालीमा केन्द्रित अनुसन्धानमार्फत विद्यार्थीहरूलाई सीपयुक्त बनाउँदै दीगो राष्ट्रिय क्षमता निर्माण गर्नु हो।
यस पटकको संगोष्ठी विद्यार्थीहरूको पूर्ण व्यवस्थापनमा सम्पन्न भएको हो, जहाँ उनीहरूले आफ्नो अनुसन्धान पोस्टरमार्फत प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरू, विद्यार्थीहरू तथा आम सर्वसाधारण सहभागी थिए।
परियोजनाका संयोजक तथा आईओईका पूर्व विद्यार्थी सागर खनालका अनुसार, “ड्युक र आईओईबीचको सहकार्यले अनुसन्धानको थालनीदेखि अन्तर्राष्ट्रिय सञ्जाल विस्तारसम्मका अवसर प्रदान गर्यो, जुन हामी विद्यार्थीहरूका लागि अत्यन्तै फलदायी रह्यो।”



