काठमाडौं । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि निष्ठापूर्वक सेवा पुर्याउँदै आएका कर्मचारीहरूलाई सम्मान गर्दै विशेष कार्यक्रमको आयोजना गरेको छ।
समारोह अन्तर्गत, संघले विभिन्न प्रदेशहरूमा एक सातासम्म विविध कार्यक्रमहरू सञ्चालन गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय समर्पित सेवा प्रदान गरेका कर्मचारीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको हो। संघका अनुसार ती कर्मचारीहरूको निरन्तर सेवा, प्रतिबद्धता र इमानदारीले बैंकको समग्र सफलता र प्रगतिमा महत्वपूर्ण योगदान पुगेको छ।
कार्यक्रमलाई प्रदेशगत रूपमा सञ्चालन गरिएको छ। हालसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सम्मान कार्यक्रमहरू सम्पन्न भइसकेका छन् भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि यस्तै कार्यक्रमहरू छिट्टै आयोजना गरिने तयारी भइरहेको संघले जनाएको छ।
कर्मचारी संघले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने र संस्थाको समग्र हितमा योगदान पुर्याउने लक्ष्य लिएको बताएको छ।



