दाउन्नेमा सडक भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, सयौं सवारी साधन अलपत्र

काठमाडौं । शुक्रबार राति परेको अविरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको संवेदनशील दाउन्ने खण्डमा सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित खुर्सानी खोला नजिकै सडकको ठूलो हिस्सा भत्किएपछि राजमार्ग ठप्प बनेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख, प्रहरी निरीक्षक दीपेन्द्र बानियाँका अनुसार, बर्दघाट बजारबाट करिब ३ किलोमिटर पश्चिममा पर्ने खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ । सडक स्तरोन्नतिको क्रममा भर्खरै गरिएको ढलानसमेत उप्किएर क्षति पुगेको उनले जानकारी दिए । शुक्रबार राति करिब ११ बजेदेखि अवरुद्ध भएको यो महत्वपूर्ण राजमार्ग शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

प्रहरी निरीक्षक बानियाँकाअनुसार, शनिबार बिहान पनि हल्का वर्षा जारी रहेकाले तत्काल मर्मत कार्य अघि बढाउन कठिनाइ भइरहेको छ । ‘पानी रोकिएलगत्तै निर्माण कम्पनी र सडक विभागसँग समन्वय गरी राजमार्ग शीघ्र सञ्चालनमा ल्याउन हामी लागिपरेका छौं,’ उनले भने ।

दाउन्ने सडक खण्डमा केही दिनअघिदेखि आंशिक रूपमा सवारी आवतजावत रोकेर सडक मर्मत तथा स्तरोन्नतिको कार्य भइरहेको थियो। तर, पछिल्लो समय सामान्य वर्षामा समेत यो खण्डमा कहिले सडक चिप्लो भएर त कहिले पहिरो खसेर बारम्बार यातायात अवरुद्ध हुँदै आएको छ, जसले यात्रुहरूलाई सास्ती दिइरहेको छ ।

शुक्रबार रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू रोकिएका छन् । प्रहरीका अनुसार, हाल पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनहरूलाई बर्दघाट बजार क्षेत्रमा र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधनहरूलाई दुम्किबासको ज्यामिरेमा रोकिएको छ, जसका कारण यात्रुहरू अलपत्र परेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप