काठमाडौं । सामाजिक सञ्जालमार्फत सरकारी कर्मचारीलाई ‘हनी ट्र्याप’ मा पारेर लाखौं रुपैयाँ असुल्ने दुई जना महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी पक्राउ परेकी हुन् ।
उनीहरूमाथि एक सरकारी कर्मचारीलाई फसाएर ५ लाख रुपैयाँ असुलेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, यी महिलाले गत चैतमा ‘टिकटक गर्ल’ नामक फेसबुक प्रोफाइलबाट करिब ५५/५६ वर्षीय एक सरकारी कर्मचारीलाई साथी बन्न अनुरोध पठाएका थिए । सुन्दर युवतीको तस्बिर देखेर ती कर्मचारीले तत्कालै अनुरोध स्वीकार गरे ।
फेसबुकमा साथी बनेको एक सातापछि ‘टिकटक गर्ल’ बाट ‘हाई’ म्यासेज आयो, जसको जवाफ कर्मचारीले ‘हेल्लो’ बाट दिए । सामान्य हाई-हेल्लोबाट सुरु भएको कुराकानी क्रमशः अन्तरंग हुँदै गयो । एक साताको अनलाइन संवादपछि ‘टिकटक गर्ल’ले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राखिन्, जसलाई कर्मचारीले सहजै स्वीकारे ।
पहिलो भेटमा ‘टिकटक गर्ल’ को तर्फबाट दुई जना महिला उपस्थित थिए। सामान्य कफी भेटघाटपछि उनीहरू छुट्टिए । त्यसको एक सातापछि पुनः ‘टिकटक गर्ल’ बाट ठमेलमा खानपिन गर्ने प्रस्ताव आयो, जसलाई कर्मचारीले फेरि स्वीकारे । यसपटकको भेटमा पीडित कर्मचारीलाई योजनाबद्ध रूपमा खाजा र मादक पदार्थ सेवन गराइयो । उनी अचेत अवस्थामा पुगेपछि आरोपी महिलाहरूले उनको अश्लील फोटो र भिडियो खिचेको खुलेको छ ।
तामाङ र चौगुठीले ती भिडियो र फोटोका स्क्रिनसटहरू पीडितलाई मेसेन्जरमा पठाउँदै ‘काठमाडौंमा घर र ४ आना जग्गा दिनुपर्छ, नत्र यौन शोषणको मुद्दा हालिदिन्छु’ भनी धम्क्याए । उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्न बाध्य पारेका थिए । अन्ततः प्रहरीले उनीहरूलाई बुधबार काठमाडौं महानगरपालिका-११, हनुमानस्थानबाट पक्राउ गर्न सफल भएको हो ।
उनीहरूको साथबाट दुई थान मोबाइल र आँचल चौगुठीको नाममा काटिएको प्राइम कमर्सियल बैंकको ५ लाख रुपैयाँको चेक एक थान बरामद गरिएको छ । पक्राउ परेका दुवै महिलालाई आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।




