काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हाल देखिएको वित्तीय चुनौतीहरू समाधान गर्न बैंकिङ क्षेत्रका सरोकारवालाबीच आपसी एकता र सहकार्य अपरिहार्य रहेको बताएका छन्।
नेपाल बैंकर्स संघका पदाधिकारीहरूसँगको शिष्टाचार भेटका क्रममा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यमान चुनौतीहरू समाधान गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
“वित्तीय प्रणालीलाई सबल र स्थिर बनाउन साझा प्रयास आवश्यक छ,” गभर्नर पौडेलले भने, “नेपाल राष्ट्र बैंक बैंकिङ क्षेत्रको स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध छ।”
शिष्टाचार भेटमा बैंकर्स संघले गभर्नर पौडेललाई आगामी कार्यकालको शुभकामना दिँदै, हालको आर्थिक वातावरणमा बैंकिङ क्षेत्रले भोगिरहेको जटिलता बारे अवगत गराएको थियो।
संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्र समस्यामा परिरहेको उल्लेख गर्दै त्यसको समाधानका लागि नियामक संस्थाबाट नीति तथा कार्यान्वयन तहमा थप सहजीकरणको अपेक्षा राखेका थिए। उनीहरूले बैंकिङ प्रणालीलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन राष्ट्र बैंकसँग निरन्तर सहकार्य आवश्यक रहेको पनि औँल्याए।




