राप्रपा अध्यक्ष लिङ्देनले युवासँग अन्तरसंवाद गर्ने

काठमाडौं । जेठ १५ गतेदेखि सडक आन्दोलनमा होमिने तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनको पूर्वसन्ध्यामा युवाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा ४० वर्षमुनिका विभिन्न पेशा र व्यवसायमा संलग्न युवा तथा विद्यार्थीहरूसँग ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन? युवासँग राप्रपा’ शीर्षकमा विशेष संवाद कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

राप्रपाको युवा विभागले आयोजना गर्न लागेको उक्त कार्यक्रममार्फत पार्टीले अघि सारेका राजनीतिक एजेण्डा, व्यवस्था परिवर्तनको औचित्य, राजसंस्थाको स्वरूप, हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयता खारेजीको आवश्यकता लगायतका विषयमा युवाहरूमा रहेका जिज्ञासा र प्रश्नहरूको अध्यक्ष लिङ्देनले प्रत्यक्ष जवाफ दिनेछन् ।

राप्रपा युवा विभागका प्रमुख प्रकाश रिमालका अनुसार, कार्यक्रममा युवाहरूले राप्रपाका आर्थिक, सामाजिक नीति, आन्दोलनपछिको मार्गचित्र तथा दैनिक जनजीविकासँग सम्बन्धित सवालहरूमा पनि प्रश्न राख्न सक्नेछन् । ‘राप्रपाले राजाको मुद्दा मात्र बोक्छ भन्ने भ्रम र आजको पुस्तालाई पार्टीका समग्र एजेण्डा बुझाउन तथा व्यवस्था परिवर्तनका लागि युवाहरूलाई जागृत गराउन यो कार्यक्रम आयोजना गरिएको हो,’ प्रमुख रिमालले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री