काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरेको छ। बुधबार ललितपुरमा आयोजित “राष्ट्रिय मनसुन फोरम–२०८२” मा विभागका वरिष्ठ मौसमविद्हरूले प्रस्तुत गरेका विवरणअनुसार यो वर्षको मनसुनले विगतको तुलनामा बढी असर पार्नसक्ने देखिएको छ।
वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार, देशका विभिन्न भूभागमा स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना छ। उनले मनसुन अवधिमा अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने औंल्याइन्।
“यस वर्षको मनसुनमा गर्मी पनि अधिक हुने अनुमान छ,” पोख्रेलले भनिन्, “तापक्रममा पनि वर्षासँगै उल्लेख्य वृद्धि देखिने सम्भावना छ।”
विभागका अर्का वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालमा वार्षिक वर्षाको ८० प्रतिशत हिस्सा मनसुनको चार महिनामा हुने जानकारी दिँदै यस अवधिमा हुने सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहनु आवश्यक भएको बताइन्।
उनले विशेषगरी बाढी, पहिरो, डुबानजस्ता विपद् यस अवधिमा बढी हुने भएकाले स्थानीय प्रशासन, आपतकालीन सेवा र नागरिक सबैले सजगता अपनाउनु पर्नेमा जोड दिइन्। “मनसुनअघि नै तयारीमा रहे यो वर्ष हुने मानवीय तथा भौतिक क्षति कम गर्न सकिन्छ,” मानन्धरले भनिन्।
विभागका अनुसार हरेक वर्ष मनसुनको समयमा नेपालमा तीन सयभन्दा बढी मानिसको ज्यान जान्छ भने दुई सय मिलियन डलरभन्दा बढीको आर्थिक क्षति हुने गर्छ।
मनसुन काल जुनदेखि सेप्टेम्बरसम्म रहने गर्दछ। यस अवधिमा असार, साउन र भदौ महिना प्रायः उच्च जोखिमयुक्त हुने भएकाले योजनाबद्ध सतर्कता र पूर्वतयारीले संभावित विनाशबाट जोगिन सकिने विज्ञहरूको सुझाव छ।




