काठमाडौं । मुस्लिम महिलाहरूको आत्मनिर्भरता र नेतृत्व विकासका लागि तीन दिने विशेष तालिम नेपालगन्जमा सुरु भएको छ। बास नेपालले आयोजना गरेको तालिम सामाजिक विकास डिभिजन कार्यालय बाँकेको सहयोगमा सुरु भएको हो। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार तालिमको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले मुस्लिम समुदायका महिलाहरूले विविध समस्याहरूको सामना गरिरहेकाले उनीहरूको क्षमता विकास गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए। उनले भने, “अधिकारका लागि आजैबाट आफै जाग्न जरुरी छ, समाज रुपान्तरणका लागि आवश्यक तत्वहरू तालिममार्फत सिक्न सकिन्छ।”
प्रदेश सभा सदस्य मिना सिद्दिकी बोहरा पनि कार्यक्रममा सहभागी भइन्। उनले मुस्लिम महिलाहरू यसरी सक्रिय रूपमा तालिममा सहभागी हुनु प्रेरणादायक रहेको बताउँदै भनिन्, “हाम्रो समुदायमा गर्न बाँकी अझै धेरै कामहरू छन्, आफ्नो हक अधिकारका लागि हामी आफैं अघि बढ्नुपर्छ।”
सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख उद्धव प्रसाद श्रेष्ठले सहभागिहरूलाई तालिममा सक्रिय भूमिका खेल्न र विषयवस्तुलाई आत्मसात् गर्न आग्रह गरे। बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने उपाध्यक्ष दिला शाहले तालिमको उद्देश्यबारे जानकारी दिइन्।
तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, नेतृत्व विकास, महिलावाद र सकारात्मक सोच जस्ता विषयमा सहजीकरण गरेका थिए। नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाबाट ९० जना मुस्लिम महिलाहरूको सहभागिता रहेको यो तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।




