काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको बैठक सम्पन्न भएको छ। आज बसेको समितिको बैठकले तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
प्राप्त जानकारीअनुसार सिफारिस सूचीमा प्रा.डा. विश्व पौडेल, राष्ट्र बैंकका कार्यवाहक गभर्नर एवं डेपुटी गभर्नर डा. नीलम ढुंगाना र पूर्व सचिव अंगराज तिमिल्सेना रहेका छन्। समितिले सिफारिस गरिएको नामहरू अर्थ सचिवमार्फत मन्त्रिपरिषद् र प्रधानमन्त्रीको कार्यालयमा पठाइसकेको छ। आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट गभर्नरको टुंगो लाग्ने सम्भावना रहेको जनाइएको थियो, तर राजनीतिक सहमति अझै स्पष्ट नहुँदा निर्णय लम्बिन सक्ने आँकलन गरिएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज दिउँसो भएको छलफलमा डा. विश्व पौडेललाई गभर्नर बनाउने विषयमा सहमति जुटेको कांग्रेसका एक उच्च स्रोतले जानकारी दिएका छन्। कांग्रेस निकट अर्थशास्त्री पौडेलको नाम अघि सारिए पनि एमाले पक्षले उनको तटस्थता र योग्यता विषयमा प्रश्न उठाउँदै आएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य वा पदाधिकारी गभर्नर बन्न नपाउने प्रावधान छ। एमालेले यही कानुनी व्याख्या प्रस्तुत गर्दै पौडेलको प्रस्तावमा असहमति जनाएको हो।
यसअघि कांग्रेसले रबिन्द्र पाण्डे, ज्ञानेन्द्र ढुंगाना र गुणाकर भट्टलाई गभर्नर पदका लागि अघि सारेको थियो, तर एमालेले उमेर, पेशागत अयोग्यता र कानुनी अस्पष्टता लगायतका आधारमा ती नामहरू अस्वीकार गर्दै आएको छ।
राजनीतिक सहमति अझै नजुट्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिने देखिएको छ। अब जेठ १५ गते प्रस्तुत हुने बजेट भाषणपछि मात्र यो विषयमा ठोस निर्णय हुने सम्भावना बढेको छ।



