प्रा.डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने निश्चित

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा प्रा.डा. विश्व पौडेल नियुक्त हुने पक्का भएको छ । अर्थशास्त्रका जानकार एवं पूर्व नीतिनिर्माण सल्लाहकारसमेत रहेका पौडेललाई सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको सहमतिपछि गभर्नर बनाउने तयारी अन्तिम चरणमा पुगेको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सम्पन्न भेटवार्तामा प्रा.डा. पौडेललाई राष्ट्र बैंकको नेतृत्व दिने सहमति भएको छ । पौडेल नेपाली कांग्रेस निकट व्यक्तित्व मानिन्छन्, तर उनी विगतदेखि नै पेशागत हैसियतमा स्वतन्त्र छवि कायम गर्न सफल छन् ।

पौडेलको सिफारिस प्रक्रियालाई अगाडि बढाउन अर्थमन्त्री विष्णु पौडेलले ‘गभर्नर सिफारिस समिति’को बैठक आह्वान गरिसकेका छन् । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त रहेको छ । हाल डेपुटी गभर्नर निलम ढुङ्गाना कायममुकायम गभर्नरको रूपमा कार्यरत छन् ।

गभर्नर नियुक्तिको अन्तिम टुंगो लगाउने प्रक्रिया औपचारिक रूपमा पूरा भएपछि प्रा.डा. पौडेलले राष्ट्र बैंकको नेतृत्व सम्हाल्नेछन् । अहिलेको आर्थिक चुनौतीका सन्दर्भमा नयाँ गभर्नरको भूमिकालाई अर्थतन्त्रको दिशा निर्धारण गर्ने अवसरका रूपमा हेरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप