काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा परिचित कान्ति लोकपथ अवरूद्ध भएको छ । गएरातिको लगातारको वर्षाले बागमती खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि सडक सम्पर्क विच्छेद भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भिमफेदी गाउँपालिका-८ (मकवानपुर) र बागमती गाउँपालिका-२ (ललितपुर) को सिमानामा पर्ने बागमती खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि उक्त सडक खण्डबाट सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।
सामान्यतया सो डाइभर्सन प्रयोग गरी साना तथा ठूला सवारी साधनहरूको नियमित आवतजावत हुँदै आएको थियो । तर डाइभर्सन बगाएसँगै आवगमन प्रभावित भएको हो ।
प्रहरीका अनुसार उक्त स्थानमा तत्कालै प्रहरी टोली परिचालन गरिएको छ र सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रयासहरू भइरहेको छ । यद्यपि खोलाको बहाव उच्च रहेकाले काममा कठिनाइ भइरहेको बताइएको छ । प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।




