ग्लोबल आइएमई बैंकको डाटा सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता, PCI DSS v4.0.1 प्रमाणीकरण प्राप्त

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड प्रयोगकर्ताको डाटा सुरक्षाका लागि अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्राप्त गरेको छ। बैंकले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (PCI DSS) को संस्करण v4.0.1 अन्तर्गत प्रमाणीकरण प्राप्त गर्दै डाटा सुरक्षा मापदण्डमा उच्चस्तरीय प्रतिबद्धता पुष्टि गरेको हो।

उक्त प्रमाणीकरण नेटवर्क इन्टेलिजेन्स नामक संस्थाबाट प्रदान गरिएको हो, जुन PCI सिक्युरिटी स्ट्यान्डर्डस् काउन्सिल बाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी एसेसर (QSA) हो। यस संस्थाले कार्ड सुरक्षासम्बन्धी विषयहरूमा विश्लेषण, मूल्याङ्कन र प्रमाणीकरण प्रदान गर्दछ। नेटवर्क इन्टेलिजेन्समार्फत प्राप्त प्रमाणीकरणले बैंकको कार्ड डाटा संरक्षण प्रणाली अन्तर्राष्ट्रिय मानक अनुरूप सुरक्षित रहेको प्रमाणित गर्छ।

ग्लोबल आइएमई बैंकले कार्ड प्रयोगकर्ताको डाटाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्न प्रणालीगत र संस्थागत उपायहरू कार्यान्वयन गर्दै आएको छ। बैंकले आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन, र डेटा इन्क्रिप्सनजस्ता प्रविधिहरूमा लगानी गर्दै सुरक्षा पूर्वाधारलाई सुदृढ बनाएको जनाएको छ। “डाटा सुरक्षाको क्षेत्रमा निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अभ्यासमार्फत हामीले आफ्नो प्रतिबद्धता स्वतन्त्र तवरले प्रमाणित गरेका छौं,” बैंकको भनाइ छ।

ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ मा नेपालको उत्कृष्ट बैंकको उपाधि जितेको छ। बैंकलाई यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विविध विधामा सम्मान प्राप्त भइसकेको छ।

देशभर फैलिएको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकले आधुनिक र विश्वसनीय सेवा प्रदान गरिरहेको छ।

ग्लोबल आइएमई बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आफ्ना परिवारसँग जोड्न सहयोग पुर्‍याउँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री