देशभर वायुप्रणालीको असर, कोशी-गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर स्थानीय वायु, पश्चिमी वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीको असरले बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको छ भने तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशका केही स्थानमा उल्लेखनीय वर्षा मापन गरिएको छ।
बागलुङको गलकोटमा १०५ मिलिमिटरभन्दा बढी पानी परेको छ भने पर्वतको कुश्मा क्षेत्रमा २९.८, लामापाटन (कास्की) मा ३५.२, स्याङ्जामा २७ र पर्वतमै अर्को स्थानमा ४०.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

त्यस्तै, पूर्वी नेपालका झापाको दमकमा १८, इलामको चुलाचुली र संखुवासभाको तुम्लिङटारमा समान १२.२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान अनुसार बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
रातिको समय पनि यिनै प्रदेशका पहाडी भूभागमा वर्षा जारी रहने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।

यात्रा वा बाहिरी क्रियाकलापका लागि पहाडी क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। साथै, स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायलाई पनि पूर्वतयारी रहन आग्रह गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री