काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले बुधबार उक्त आदेश दिएको हो।
राईलाई वैशाख १३ गते स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। कालिमाटीस्थित मुख्य कार्यालय रहेको सो सहकारीमा उनी पहिले सदस्य र पछि सहसचिवको भूमिकामा कार्यरत रहेकी थिइन्।
अनुसन्धान अनुसार, २०७३ सालको कार्तिक ६ गतेदेखि २०७४ मंसिर ४ सम्म उनी सदस्यको रूपमा कार्यरत थिइन् भने त्यसपछिको दुई वर्ष अर्थात् २०७६ भदौ २१ गतेसम्म सहसचिवको रूपमा काम गरेकी थिइन्। सो अवधिमा करिब २ करोड ४० लाख रुपैयाँ हिनामिना भएको प्रहरीले जनाएको छ।
मंगलबार सरकारी वकिलको कार्यालयले सांसद राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा ३७ लाख ३५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै अभियोगपत्र दायर गरेको थियो।
अहिले उनी धरौटीमा रिहा भएसँगै मुद्दा फैसलासम्मको कानुनी प्रक्रिया अगाडि बढ्नेछ। अदालतको आदेशपछि सांसद राई कानुनी प्रक्रियामा उपस्थित भइरहने शर्तमा छुटेकी हुन्।



