९ महिनामा रेमिट्यान्स ११ खर्ब नाघ्यो, १० प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनामा (साउनदेखि चैतसम्म) वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकको पछिल्लो मासिक प्रतिवेदनअनुसार यो परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो। अमेरिकी डलरको हिसाबमा हेर्दा यो अवधिमा ७.३ प्रतिशतले वृद्धि भई रेमिट्यान्स ८ अर्ब ७४ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि दर १५.२ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार रेमिट्यान्स वृद्धिको पछाडि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा आएको वृद्धिको समेत योगदान रहेको छ। साउनदेखि चैतसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत गरी) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २ सय २२ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ रहेको छ।

गत वर्षको यही अवधिमा नयाँ श्रम स्वीकृति लिने संख्या ३ लाख २७ हजार ८ सय ४२ र पुनः स्वीकृति लिने २ लाख ११ हजार २ सय २६ थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री