काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा आज बिहान ट्रक पल्टिँदा नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश-०३-००१ख ९८१७ नम्बरको कोइला बोक्ने ट्रक आज बिहान अनियन्त्रित भई तुइनखोलामा पल्टिएको हो ।
सो सडकखण्ड मुग्लिन बजारदेखि झण्डै दुई किलोमिटर दक्षिणतर्फ पर्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार ट्रकलाई अन्यन्त्र सारिएपछि अहिले सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । ‘दुर्घटनामा मानवीय क्षति भने भएको छैन,’ डीएसपी खनालले भने ।
दुर्घटनापछि सडक अवरुद्ध हुँदा यात्रुहरूलाई केही समय कठिनाइ भएको थियो । हाल सवारी एकतर्फी रूपमा सञ्चालनमा आएकाले पूर्ण रूपमा सहज बनाउन ट्रक हटाउने कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।




