पाकिस्तानी गोलीबारी र ड्रोन आक्रमणमा तीन भारतीय सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाले सीमा क्षेत्रमा गरेको भारी गोलीबारी र ड्रोन आक्रमणमा तीन भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार, मारिनेहरूमा भारतीय सेना, सीमा सुरक्षा बल भारतीय वायुसेनाका जवान छन् ।

आक्रमण भारत-पाकिस्तानबीचको युद्धविराम सम्झौता कार्यान्वयनमा आउनु अघिको समयमै भएको बताइएको छ । हिमाचल प्रदेशका सुबेदार मेजर पवन कुमार पुंछको कृष्णा घाटी सेक्टरमा तैनाथ थिए । शनिबार बिहान पोस्ट नजिकै भएको तोप आक्रमणमा गम्भीर घाइते भएका उनी उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

जम्मु-कश्मीर लाइट इन्फन्ट्रीका २५ वर्षीय राइफलम्यान सुनील कुमार आरएस पुरा सेक्टरमा रातभर भएको गोलाबारीमा घाइते भएका थिए । गम्भीर चोटका कारण उनको पनि मृत्यु भएको भारतीय सेनाले जनाएको छ । भारतीय वायुसेनाको ३६औँ विङमा मेडिकल असिस्टेन्टका रूपमा कार्यरत सार्जेन्ट सुरिन्दर कुमार मोगाको पनि पाकिस्तानी आक्रमणमा मृत्यु भएको छ । उनी चार दिनअघि मात्र बेंगलुरुबाट उधमपुर स्थानान्तरण भएका थिए ।

आरएस पुरा सेक्टरको अन्तर्राष्ट्रिय सिमाना क्षेत्रमा पाकिस्तानी सेनाले गरेको गोलीबारीमा सीमा सुरक्षा बल युनिटका सब-इन्स्पेक्टर मोहम्मद इम्तियाज मारिएका छन् । सो आक्रमणमा अन्य सात जना सीमा सुरक्षा बल सैनिक घाइते भएको पुष्टि गरिएको छ ।

यस घटनापछि जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सहिद सुरक्षाकर्मीहरूको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री