मानव बेचबिखनको परिभाषा परिमार्जनको खाँचो : डा. मीना पौडेल

काठमाडौं । महिलावादी नेतृ तथा ‘साहस’ पुस्तककी लेखक डा. मीना पौडेलले मानव बेचबिखन र बसाइसराइसम्बन्धी पाठ्यपुस्तकीय परिभाषा समयानुकूल नभएको बताएकी छन् । उनका अनुसार मानव बेचबिखनको स्वरूपमा व्यापक परिवर्तन आएकाले यसको परिभाषालाई पुनः लेख्न आवश्यक छ ।

शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” अभियान अन्तर्गत आयोजना गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै डा. पौडेलले भनिन्, ‘मानव बेचबिखन अब किन्ने र बेच्नेबीचको मात्र कारोबार रहेन, यसमा अब तस्कर समूह र अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिन थालेको छ । यस्ता जटिल प्रवृत्तिलाई पुराना परिभाषाले समेट्न सक्दैनन् ।’

डा. पौडेलको पुस्तक ‘साहस’ मानव बेचबिखन र बसाइसराइ सम्बन्धी गहिरो अध्ययनमा आधारित अनुसन्धानात्मक कृति हो । उनले आफ्नै एमफिल र पीएचडी अध्ययनका निष्कर्षहरूलाई आधार मानेर यो पुस्तक तयार गरेकी हुन् । पुस्तक दक्षिण एशियाली सन्दर्भमा महिला तथा बालबालिका लक्षित तस्करी, श्रम शोषण, लैंगिक हिंसा र जबर्जस्ती बसाइसराइका विविध पक्षमा केन्द्रित छ ।

यो पुस्तक हालसम्म अंग्रेजी, फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा अनूदित भइसकेको छ । हालै नेपाली भाषामा प्रकाशित ‘साहस’ लाई जर्मनीको एक प्रतिष्ठित विश्वविद्यालयले एमफिल र पीएचडी तहका लागि पाठ्यपुस्तकका रूपमा प्रयोग गरिरहेको छ । दक्षिण एशियाली मानव बेचबिखनको नयाँ ट्रेन्ड बुझ्न यो पुस्तक एमफिल र विद्यावारिधि तहका विद्यार्थीबीच लोकप्रिय बन्दै गएको छ ।

डा. पौडेल काठमाण्डौं विश्वविद्यालयको स्कूल अफ आर्ट्समा बसाइसराइ सम्बन्धी विषय अध्यापन गर्छिन् । साथै, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको लैंगिक अध्ययन केन्द्रमा एमफिल र पीएचडी तहमा महिलावादी अनुसन्धान विधिको पाठ्यक्रम पढाउँछिन् ।

उनले विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्थामा समेत कामको अनुभव बटुलेकी छन्, जसले उनको अध्ययन र लेखनलाई अझ व्यापक बनाएको छ । कार्यक्रममा सहभागीहरूले ‘साहस’ पुस्तकले मानव बेचबिखनको सन्दर्भमा परम्परागत सोचमा चुनौती दिएको र नयाँ दृष्टिकोण प्रस्तुत गरेको धारणा राखेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री