जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल चेम्बर र युएनडीपीबीच सहकार्य

काठमाडौं । जलवायु परिवर्तनका कारण व्यवसायिक क्षेत्रले भोग्न थालेको जोखिम र त्यसको न्यूनीकरणका उपाय खोज्न नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच औपचारिक सहकार्यको समझदारी भएको छ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोशुकाबीच सम्झौता सम्पन्न भएको हो। उक्त सहकार्यले जलवायु परिवर्तनको प्रतिकूल असरबाट व्यवसायलाई जोगाउने रणनीतिक पहलहरूलाई संस्थागत बनाउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्ने उद्देश्यले व्यवसायिक निरन्तरता योजना कार्यान्वयनमा चेम्बर अग्रसर हुने बताए। “जलवायु परिवर्तनका कारण व्यवसायमा पर्न सक्ने जोखिमको अध्ययन गर्दै नीतिगत तहमै सुधारका लागि तीनै तहका सरकारसँग सहकार्य आवश्यक छ,” उनले भने।

अग्रवालले साना तथा मझौला उद्योगहरू जलवायुजन्य विपद्‌बाट बढी प्रभावित हुने भएकाले तिनको जोखिम मूल्याङ्कन गर्न र न्यूनीकरणका लागि बीमा प्रणालीजस्ता उपायहरूमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा युएनडीपीका आवासीय प्रतिनिधि योकोशुकुले जलवायुजन्य विपद्का घटनामा निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताए। “स्थायी प्रकृतिको विपद्‌ प्रतिकार्य कोषको स्थापना निजी क्षेत्रको सहभागितामै सम्भव छ,” उनले भने।

उनले नेपाल चेम्बर र युएनडीपीबीच काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकामा गत असोजमा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा गरिएका पुनर्निर्माण तथा जीविकोपार्जन सहकार्यलाई उदाहरणीय उल्लेख गर्दै भविष्यमा यस्ता प्रयासलाई संस्थागत बनाइ लैजानुपर्ने आवश्यकता औंल्याए। सहकार्यले दीगो विकास, व्यवसायिक सुरक्षा तथा हरित भविष्य निर्माणतर्फ ठोस योगदान दिने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप