काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण (नेविप्र) को आर्थिक अवस्था र यथार्थ अवस्थालाई श्वेतपत्रमार्फत स्पष्ट रूपमा बाहिर ल्याइएको दाबी गरेका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खड्काले प्राधिकरण घाटामा गएको हो भन्ने प्रश्नको जवाफमा हालको यथार्थ परिस्थितिको विवरण सार्वजनिक गरिसकिएको बताए। उनले “श्वेतपत्रमार्फत प्राधिकरणको वर्तमान अवस्था उजागर गरिएको छ,” भन्दै केही समयभित्रै प्राधिकरणको पछिल्लो वित्तीय विवरण तथा सम्पत्ति र दायित्वको मूल्यांकन (ड्यू डिलिजेन्स अडिट – DDA) गरिने जानकारी दिए।
सांसदहरूले श्वेतपत्रप्रति राखेका टिप्पणीबारे प्रतिक्रिया दिँदै मन्त्री खड्काले संसदीय प्रक्रिया र अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्ने बताए। “सांसदहरूले आफ्नो धारणा राख्न स्वतन्त्र छन्,” उनले भने, “संसद अधिकारसम्पन्न छ, त्यसैले आवश्यकता परेमा संसदीय समिति गठन गरेर छानबिन गर्न सकिन्छ।”
त्यसैगरी, मन्त्री खड्काले देशमा अब लोडसेडिङ नहुने स्पष्ट घोषणा गरे। “लोडसेडिङको युग समाप्त भइसकेको छ, आगामी दिनमा पनि त्यो अवस्था दोहोरिँदैन,” उनले भने । ऊर्जा क्षेत्रमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता मन्त्री खड्काले व्यक्त गरेका छन् ।




