व्यवसायीहरूलाई उद्योगीमन्त्रीको आग्रह- उत्पादन र उत्पादकत्व वृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्नू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी–व्यवसायीहरूलाई उत्पादन र उत्पादकत्व वृद्धि गर्दै निर्यात प्रवर्द्धनमा सक्रिय रूपमा लाग्न आह्वान गरेका छन्। बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५’ को दशौं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत सुधारमा सक्रिय रहेको स्पष्ट पारे।

उनले आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको निर्माणमा निजी क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि नीतिगत सहजीकरणमा सरकार क्रियाशील रहेको बताए।

रुग्ण उद्योगलाई नयाँ मोडालिटीमा अगाडि बढाउने तयारी

मन्त्री भण्डारीले आगामी साउन १५ भित्रमा संस्थानका रूपमा रहेका नेपालका रुग्ण उद्योगहरूलाई उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावका आधारमा डिडिए (Due Diligence Audit) पूरा गरी नयाँ मोडालिटीसहित अघि बढाउने जानकारी दिए। साथै, विशेष आर्थिक क्षेत्रमा पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारी (PPP) मा आधारित योजना अघि बढिरहेको पनि उल्लेख गरे।

स्वदेशी वस्तुको बजारीकरणमा जोड

स्वदेशी वस्तुको उपभोग कार्यविधि अघि बढाइएकाले स्वदेशी उत्पादनको बजारीकरणमा राहत पुग्ने विश्वास मन्त्री भण्डारीले व्यक्त गरे। उनले भने, “देशमा पुँजीको अभाव छैन, तर लगानी नहुनु प्रमुख चुनौती हो। आगामी बजेटले सूचना प्रविधि, उद्योग र पर्यटनलगायत क्षेत्रमा विशेष जोड दिनेछ।”

व्यापार मेला : ब्रान्डिङ र लगानीका अवसर

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र ललितपुर उद्योग वाणिज्य संघ तथा घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा सुरु भएको व्यापार मेला वैशाख २९ गतेसम्म चल्नेछ। मेलामा नेपाल, चीन र बंगलादेशलगायत देशका गरी १२० भन्दा बढी स्टलहरू रहेका छन्। विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँगको छलफलद्वारा द्विपक्षीय व्यापार र लगानीको सम्भावना पनि खोजिने आयोजकहरूले जनाएका छन्।

व्यवस्थित मेला स्थलको आवश्यकता

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र आर्थिक विकासमा मेलाले टेवा पुर्याउने अपेक्षा व्यक्त गरे। “व्यापार मेलाले उद्योगीहरूबीचको सम्बन्ध विस्तार, लगानी आकर्षण र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्नेछ,” श्रेष्ठले बताए। साथै, नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि व्यवस्थित मेला स्थलको अभाव एउटा चुनौती भएको भन्दै उनले दीर्घकालीन संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए।

निर्यात क्षमता अभिवृद्धिमा जोड

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) का कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात क्षमताको अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए। मेला समितिका सभापति उमेश डालमियाले विभिन्न मुलुकका प्रतिनिधिहरूसँगको छलफलबाट नयाँ व्यापारिक र लगानी सम्भावनाहरू खुल्ने विश्वास व्यक्त गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री