नेपाललाई उपचारात्मक परीक्षणमा आत्मनिर्भर बनाउने तयारी : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई उपचारात्मक प्रयोगशाला परीक्षणमा आत्मनिर्भर बनाउनु समयको आवश्यकता भएको बताएका छन्।

बिहीबार राजधानीमा आयोजित ‘राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूची’ सार्वजनिक कार्यक्रममा मन्त्री पौडेलले उपचारात्मक परीक्षणहरू देशभित्रै गर्न सक्ने वातावरण बनेमा सेवाग्राहीलाई सुविधा पुग्ने, खर्च कम हुने र स्वास्थ्य सेवा प्रणाली अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

“नेपालमा प्रयोगशालाबाट हुने उपचारात्मक परीक्षणहरूमा आत्मनिर्भरता अनिवार्य भइसकेको छ,” मन्त्री पौडेलले भने, “यदि परीक्षण देशमै हुने अवस्था बन्यो भने जनताले धेरै झन्झट व्यहोर्नु पर्दैन, खर्च कम हुन्छ र अस्पतालले दिने सेवामा पनि सहजता आउँछ।”

उनले प्रदेशस्तरमा खुलेका नयाँ प्रयोगशालाहरूको सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै ती प्रयोगशालामा क्षमतावृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए।

स्वास्थ्य क्षेत्र अझै अधूरो रहेको उल्लेख गर्दै उनले आवश्यक पूर्वाधार, जनशक्ति र प्रविधि विस्तारका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यको अपेक्षा पनि व्यक्त गरे।

“स्वास्थ्य क्षेत्र पूर्ण छैन, अझै धेरै काम गर्न बाँकी छ,” मन्त्री पौडेलले भने, “डब्लुएचओमार्फत आवश्यक सहयोगको अपेक्षा गरेका छौं। हाम्रो आवश्यकताबारे त्यसलाई जानकारी गराउनु जरुरी छ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री