तीन तहबीचको सम्बन्ध प्रगाढ बनाउने बेला आएको छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध अझ प्रगाढ र सहयोगात्मक बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम अन्तर्गत प्रादेशिक इकाइले धनगढीमा बिहीबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा बजेट सम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले तीन तहबीच आपसी अस्तित्व स्वीकृति र समन्वय अपरिहार्य भएको धारणा राखेका हुन् ।

‘तीन तहको सरकारले एकअर्काको अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ,’ उनले भने, ‘यदि यस्तो वातावरण बन्न सकेन भने शासन प्रणालीमा जटिलता आउँछ ।’

मुख्यमन्त्री शाहले बजेट निर्माण प्रक्रियामा बारम्बार हुने त्रुटि र त्यसबाट उत्पन्न हुने जनगुनासोका प्रवृत्तिहरूलाई सच्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘यदि हरेक वर्ष हामीले बजेटमा उही किसिमका कमजोरी दोहोर्याउँदै गयौं भने संघीय संरचना मात्र होइन, जनअपेक्षा पनि कमजोर बन्छ ।’

उनले बजेट सधैँ सही ढंगले परिचालित हुने हिसाबले निर्माण हुनुपर्ने बताउँदै समावेशी, परिणाममुखी र उत्तरदायी बजेट प्रणालीको आवश्यकता औँल्याए । साथै, मुख्यमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणलाई फलदायी भएको उल्लेख गर्दै त्यसबाट सुदूरपश्चिमको विकासमा सकारात्मक संकेत मिलेको बताए ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यसूचीसहित स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा विभागीय मन्त्रीहरू, विषयगत समिति सभापतिहरू, प्रदेशसभा सदस्यहरू, मुख्य सचिव, विभागीय सचिवहरू साथै सुदूरपश्चिम प्रदेशका सबै पालिकाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री