काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिक नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने स्पष्ट संकेत दिएकन छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुकका समस्याहरूको समाधान खोज्न युवा पुस्ता अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज नहुने भए पनि अन्ततः परिवर्तन ल्याउने क्षमता र नयाँ सोच बोकेको पुस्ताकै हातमा नेतृत्व जाने विश्वास व्यक्त गरे । ‘समस्या सबैलाई थाहा छ, तर समाधान कसैले दिन सकेको छैन। अबको पुस्ताले समाधानसहित राजनीतिमा आउनुपर्छ,’ मन्त्री पौडेलले भने, ‘थुप्रै काम गर्न बाँकी छ । गर्न सकिँदैन’भन्ने मानसिकताले पलायन हुनु हुँदैन । अरुले गर्न सकेनन्, म गर्छु भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’
उनले नेपाली राजनीतिमा नयाँ विषय र सोच ल्याउनेहरूप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उमेरले मात्र नेतृत्वको हक नदिने स्पष्ट पारे । ‘म उमेरले कान्छो छु भनेर मात्र नेतृत्व पाउने होइन, नवप्रवर्तनकारी सोच र व्यवहारले नै नेतृत्व दिलाउँछ,’ उनले भने ।
विद्यार्थी संगठनहरूलाई लक्षित गर्दै मन्त्री पौडेलले साझा मुद्दा पहिचान गरी एकता कायम गर्दै अघि बढ्न सक्नुपर्नेमा जोड दिएका छन् । उनले यथोचित रणनीति र एकतासहितको विद्यार्थी आन्दोलनले आज पनि राज्यका नीति निर्माणमा प्रभाव पार्न सक्ने धारणा राखे ।




