रोमाञ्चक खेलमा बार्सिलोनालाई हराउँदै इन्टर मिलान उपाधि नजिक

काठमाडौं ।  इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई ४-३ ले पराजित गर्दै इन्टरले समग्रमा ७-६ को जित निकालेको हो ।

रोमाञ्चक उतार-चढावले भरिएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोलको स्पष्ट अग्रता बनाएको थियो । खेलको २१औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा हाकान कान्हानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै स्कोर २-० बनाए । तर दोस्रो हाफमा बार्सिलोनाले प्रभावशाली पुनरागमन गर्दै खेलमा समता ल्यायो ।

५४औं मिनेटमा एरिक गार्सियाले गोल गरे भने ६०औं मिनेटमा डानी ओल्मोले हेडरमार्फत गोल गर्दै स्कोर २-२ बराबरीमा ल्याए । ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जितको नजिक पुर्‍याएका थिए । तर, खेल सकिन लाग्दा इन्टरका फ्रान्सेको असेर्बीले इन्जुरी समयमा गोल गर्दै स्कोर ३-३ बनाएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

थपिएको अतिरिक्त समयको ९९औं मिनेटमा डेभिड फ्राटेसीले निर्णायक गोल गर्दै इन्टरलाई फेरि अग्रता दिला ए। त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा बार्सिलोनाको चम्किलो यात्रालाई इन्टरले रोक लगाएको हो ।

अब इन्टर मिलानले उपाधिका लागि पेरिस सेन्ट-जर्मेन (पीएसजी) र आर्सनलबीचको सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्ने छ। च्याम्पियन्स लिग उपाधिका लागि इन्टरको यात्रा एक कदममात्र टाढा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री