रेशमको गिरफ्तारीप्रति नाउपाको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वैशाख १७ गते प्रज्ञाभवनबाट चौधरीलाई गिरफ्तार गरिएको घटनाले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा गम्भीर प्रश्न उठाएको टिप्पणी गरिन् । ‘यस घटनाको गहिरो अध्ययन होस्, यहाँ केवल एक जनाको गिरफ्तारीमात्रै होइन, संघीयता र लोकतान्त्रिक मूल्यहरूमाथि चोट पुगेको छ,’ अध्यक्ष चौधरीले भनिन्, ‘रेशम चौधरीज्यूमाथि भएको व्यवहारको सार्वजनिक रूपमा जवाफ दिइयोस् । हामी जवाफको प्रतीक्षामा छौं ।’

उनले चौधरीलाई कानुनी प्रक्रिया नअपनाई कार्यक्रमस्थलबाटै गिरफ्तार गरिएको बताउँदै, एक निर्वाचित जनप्रतिनिधिलाई यसरी समातिनु लोकतान्त्रिक अभ्यासविपरीत भएको तर्क गरिन् । ‘लोकतन्त्रप्रति हाम्रो विश्वास कायमै रहोस् र सत्यप्रति सरकारको जवाफदायित्व नटुटोस्,’ उनले जोड दिइन् ।

उक्त दिन नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम तय भएको थियो । सोही दिन सर्वोच्च अदालतका एक कर्मचारीको अवैध कागजातका आधारमा रेशम चौधरी पक्राउ परेका थिए। यद्यपि, सर्वोच्चकै निर्देशनपछि उनलाई सोही दिन रिहा गरिएको थियो ।

अध्यक्ष चौधरीले यस्ता घटनाहरूले राज्य संयन्त्रमा प्रश्न उठ्ने भन्दै लोकतान्त्रिक मूल्य र प्रक्रियाप्रतिको सम्मान आवश्यक रहेको स्पष्ट पारिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री