काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर बोलेरो गाडी बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको चार सदस्यीय विशेषज्ञ टोली घटनास्थलमा पुगेको छ। घटनाको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा टोलीले अनुसन्धान सुरु गरेको हो।
शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी सडकमा गुड्दागुड्दै एक्कासी जमिन भासिएर हराएको थियो। गाडीका धनी हरिराम राईका अनुसार गाडी अझै फेला परेको छैन। गाडी भासिएको ठाउँमा अहिले ठूलो खाल्डो बनेको छ, जुन धमिलो पानीले भरिएको छ।
घटनास्थलको अनौठो प्रकृतिले सर्वसाधारणको चासो बढाएको छ। जमिन चलायमान भएपछि यस्तो घटना घट्न सक्छ भन्ने अनुमान गरिए पनि वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक अध्ययन आवश्यक भएको भूगर्भविद् अधिकारीले बताएका छन्।
उनका अनुसार टोलीको अध्ययन भू-बनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका पक्षमा केन्द्रित रहनेछ। त्यसका लागि प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र जमिनभित्र रहेका अन्य पदार्थहरूको अवस्था पनि विश्लेषण गरिनेछ।
गाडी बेपत्ता भएको दुई दिनपछि मात्रै हेटौंडा उपमहानगरपालिकाले विपद् व्यवस्थापन समिति बोलाएर भूगर्भविद्को सहयोग लिने निर्णय गरेको थियो। हाल भूगर्भ विभागको टोलीले आवश्यक डेटा संकलन गरी घटनाको वैज्ञानिक पृष्ठभूमि पत्ता लगाउने प्रयास गरिरहेको छ।
स्थानीय बासिन्दाहरू भने अझै त्रसित छन्। “सडकमै गाडी हराउँछ भन्ने कल्पना पनि गरेका थिइनौं,” एक स्थानीय बासिन्दाले भने, “अब त हिँड्न पनि डर लाग्छ।”




