सेढाईंको गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिको आपत्ति

काठमाडौं । वरिष्ठ राजनीतिक विश्लेषक तथा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईका पूर्वसल्लाहकार खेमराज सेढाईंको गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिले कडा आपत्ति जनाएको छ ।

७२ वर्षीय सेढाईंलाई प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा उक्त कार्यलाई ‘अमानवीय’ र ‘प्रशासनको दमनकारी प्रवृत्तिको निरन्तरता’को संज्ञा दिइएको छ ।

समितिका अनुसार सेढाईं दीर्घकालीन मुटुरोगसहित अन्य स्वास्थ्य समस्याबाट पीडित छन् र नियमित औषधि सेवनमा रहँदै आएका छन् । पक्राउको बेला उनले औषधि लिन घर जान दिने अनुरोध गरे पनि प्रहरीले त्यो अस्वीकार गरी अमानवीय व्यवहार गरेको समितिको आरोप छ ।

तीनकुने गोलीकाण्डमा संलग्नता देखाइएको भए पनि सेढाईं राष्ट्रगान गाइरहेका बेलामा अश्रुग्याँसको असरबाट अचेतजस्तै भएको र सहयोगीहरूद्वारा मञ्चबाट हटाइएको समितिको दाबी छ । त्यस घटनामा उनको कुनै प्रत्यक्ष संलग्नता नरहेको जनाउँदै राज्य आतंकको नाममा पक्राउ गरिएको भन्दै समितिले त्यसको खण्डन गरेको छ ।

‘साँस्कृतिक र धार्मिक पहिचान तथा राष्ट्र र राष्ट्रियताको संरक्षणमा लामो समयदेखि सक्रिय सेढाईंमाथिको दमन हाम्रो गणतान्त्रिक मूल्य र मान्यतासँग मेल खान्न,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त जनआन्दोलन समितिले सेढाईंसहित सबै ‘आस्थाका बन्दीहरू’लाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ । सेढाईं दुई वर्षअघि नेपाली कांग्रेस छाडेर राजसंस्था पुनःस्थापना अभियानमा लागेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री