विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासंघद्वारा प्रभातफेरी

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले शनिबार प्रभातफेरीको आयोजना गर्दै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सुनिश्चित गर्न राज्यलाई सन्देश दिएको छ ।

‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृतिम बौद्धिकताको प्रभाव’ भन्ने मूल नारासहित रत्नपार्क शान्तिकाबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा सहभागी पत्रकार तथा वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विगतमा गरिएको संघर्ष स्मरण गर्दै त्यसमा योगदान दिने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव व्यक्त गरे ।

सो अवसरमा महासङ्घकी अध्यक्ष निर्मला शर्माले देशभर पत्रकारमाथि बढ्दो दवाब, आक्रमण र धम्कीका घटनाबारे चिन्ता व्यक्त गर्दै अघिल्ला वर्षको तुलनामा प्रेस स्वतन्त्रता हननका घटना बढेको तथ्याङ्क प्रस्तुत गरिन् । उनले पत्रकारमाथि भइरहेको हिंसा, धम्की, हत्या तथा सञ्चारमाध्यममाथिको आक्रमणलाई गम्भीर रूपमा लिँदै दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरिन् ।

कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्ट, तथा काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याललगायत वक्ताहरूले लोकतन्त्र स्थापनाका क्रममा नेपाली पत्रकारिताको अग्रणी भूमिका रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको धारणा व्यक्त गरे ।

वक्ताहरूले अहिले पनि पत्रकारहरूले सत्य समाचार सम्प्रेषण गर्दा धम्की, यातना र हिंसाको सामना गर्नुपरेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुदृढ संरक्षणका लागि व्यापक सरोकार र पहल आवश्यक रहेकोमा जोड दिए । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित यो प्रभातफेरीले नेपालको लोकतान्त्रिक विकासमा पत्रकारहरूको योगदान स्मरण गर्नुका साथै प्रेस स्वतन्त्रताको संरक्षणमा अझ गहिरो प्रतिबद्धताको आवश्यकता औंल्याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री