कान्छारामको बर्खास्तीबारे कांग्रेस बैठकमा प्रश्न, सभापति देउवा मौन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदमुक्त गरिएको विषयले नेपाली कांग्रेसको संसदीय दल बैठकमा चासोको विषय बनेको छ । शनिबार बानेश्वरमा बसेको बैठकमा तीन जना सांसदले उक्त बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै पार्टीको भूमिका कमजोर देखिएको टिप्पणी गरेका छन् ।

सांसद डिगबहादुर लिम्बु, सञ्जय गौतम र शंकर भण्डारीले प्रधानमन्त्रीले कांग्रेसबाट नियुक्त राज्यमन्त्रीलाई एकलौटी निर्णयमा बर्खास्त गर्नु असंवैधानिक र असंगत रहेको धारणा व्यक्त गरेका थिए । सांसद लिम्बुले भने, ‘राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पार्टीले फिर्ता बोलाउनुपर्थ्यो । पार्टीले पठाएको हो, गल्ती भए पार्टी आफैंले फिर्ता गर्न सक्थ्यो । तर प्रधानमन्त्रीले बर्खास्त गर्नु भनेको के सन्देश दिन खोजिएको हो भन्ने जिज्ञासा उठेको हो ।’

उनले थपे, ‘सांसदको मर्यादा छ, पार्टीको पनि भूमिका हुन्छ । यस्तो संवेदनशील विषयमा कम्तीमा आन्तरिक प्रक्रिया त पालना हुनुपर्थ्यो ।’

यद्यपि, सांसदहरूले प्रष्ट रूपमा प्रश्न उठाए पनि कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले वैशाख १० गते राज्यमन्त्री तामाङलाई पदमुक्त गरेका थिए । त्यो बेलामा सभापति देउवा थाइल्यान्डमा निजी भ्रमणमा रहेका थिए ।

तामाङको बर्खास्तीबारे पार्टीमा औपचारिक प्रतिक्रिया आउन बाँकी रहँदा, यस विषयले नेपाली कांग्रेसभित्र नेतृत्वको भूमिकामाथि थप बहस चर्काउने देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री