नेपाल ल क्याम्पसका पूर्वविद्यार्थीहरूको भेला, नयाँ कार्यसमिति चयन

भक्तपुर । नेपाल ल क्याम्पसका २०३७-०४० सालका प्रथम ब्याचका विद्यार्थीहरूले दोस्रो वार्षिक उत्सवको अवसर पारेर भव्य पुनर्मिलन तथा कार्यसमिति पुनर्गठन गरेका छन् । कार्यक्रमको अवसरमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।

नवगठित कार्यसमितिमा कृष्णप्रसाद बस्याल अध्यक्षमा चयन भएका छन् भने झविन्द्र अर्याल र केशरीराज घिमिरे सदस्यका रूपमा चयन भएका छन् । कार्यसमितिमा अन्य दुई सदस्यलाई पछि थप्ने व्यवस्था गरिएको छ । भक्तपुरको कमलविनायकस्थित मनोक्रान्ति योग तथा ध्यान केन्द्रमा सम्पन्न कार्यक्रममा आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्दै अतिथिका रूपमा आमन्त्रण गरिएकाे थियो । कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष टोप बहादुर सिंह, विशेष अतिथिका रूपमा प्रा.डा. भरत बहादुर कार्की, प्रा.डा. लक्ष्मण कुमार उपाध्याय, प्रा.डा. अम्मर प्रसाद पन्त, सुशीला रेग्मी, सुशीलकुमार पन्त तथा भाइराजा पाण्डे थिए ।

प्रमुख अतिथि सिंहले २०३५-३६ सालको तत्कालीन परिस्थिति स्मरण गर्दै आफूले राजनीतिक उद्देश्यले नभई कानून शिक्षामा गुणस्तर र सुशासनको प्रवर्द्धन गर्न खोजेको तर त्यसबेला कतिपयले त्यसलाई गलत रूपमा व्याख्या गरेको बताए । लोकसेवा आयोगका वर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीले आफू कानूनको विद्यार्थी भएको कारणले सरकारको विभिन्न सेवामा योगदान दिन सफल भएको उल्लेख गरे । उनले विशिष्ट श्रेणीको सचिवको रूपमा सेवा निवृत्त भई पाँच वर्षपछि आयोगको अध्यक्ष हुने अवसर पाएकोमा कानून शिक्षाको भूमिका रहेको स्पष्ट पारे ।

कार्यक्रममा पूर्वमन्त्री अग्नि प्रसाद खरेल, काठमाडौं विश्वविद्यालयको कानून सङ्कायका संस्थापक डिन विपिन अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक लगायतले आफ्नो विद्यार्थी जीवनका संस्मरण सुनाउँदै कानून शिक्षाले जीवनमा ल्याएको परिवर्तनको चर्चा गरे ।

कार्यक्रमको समन्वय तथा संयोजन २०३७ ब्याचका विद्यार्थी तथा पूर्वराजदूत झविन्द्र अर्यालले गरेका थिए । कार्यक्रममा सहभागिता जनाउने सबैले यस्ता पुनर्मिलन कार्यक्रमहरूले पुराना सम्झनाहरू ताजा हुने मात्र नभई भावी पुस्तालाई प्रेरणा मिल्ने धारणा व्यक्त गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री