पत्रकारमाथि आक्रमण बढ्दो, सुरक्षाका लागि कानुनी सुधार अपरिहार्य (भिडियोसहित)

  • मिडिया एक्सन नेपालले ‘त्रासदेखि दण्डहीनतासम्म, नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले ‘त्रासदेखि दण्डहीनतासम्म, नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । २०२४ मे ४ देखि २०२५ मे १ सम्मको एक वर्षे अवधिमा सञ्चारमाध्यम र पत्रकारहरूमाथि भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटनाहरू समेटिएको प्रतिवेदन आज काठमाडौंमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मिडिया एक्सन नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले प्रतिवेदन संयुक्त रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै पन्तले प्रतिवेदनले नेपालको सञ्चार क्षेत्रमा बढ्दो संकटको गहिरो तस्वीर प्रस्तुत गरेको उल्लेख गर्दै भने, ‘पत्रकारहरूलाई लक्षित धम्की, आक्रमण र अन्य उल्लंघनहरू लोकतान्त्रिक संरचनामै गम्भीर असर पारिरहेका छन् ।’

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले अन्तर्राष्ट्रिय समुदायले प्रेस स्वतन्त्रतामाथि भइरहेको उल्लंघनप्रति पर्याप्त चासो नदेखाएकोप्रति चिन्ता व्यक्त गर्दै, यस्तो अवस्थामा पत्रकार महासंघलगायत संस्थाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूको सुरक्षा पहिलो शर्त भएको उल्लेख गर्दै, सुरक्षा मापदण्ड निर्माण र कार्यान्वयनमा महासंघ सक्रिय रहेको बताइन् ।

मिडिया एक्सन नेपालका अनुसार प्रतिवेदन अवधिभर ३२ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना अभिलेखित भएका छन्, जसले ४० जना व्यक्ति र संस्थालाई प्रत्यक्ष प्रभावित पारेका छन्। तीमध्ये दुई जना पत्रकार- सुरेश भुल र सुरेश रजकको हत्या, तीन पत्रकारको गिरफ्तारी, सूचनाको अवरोध, उपकरण नियन्त्रण तथा धम्की र त्रासका २२ वटा घटना उल्लेखनीय छन् ।

प्रतिवेदनमा राज्य र गैर-राज्य पक्षबाट भएका उल्लंघन स्पष्ट रूपमा वर्गीकृत गरिएको छ- १६ घटना सरकारी निकायसँग, १ घटना विदेशी दूतसँग र २३ घटना गैर-राज्य पक्षसँग सम्बन्धित छन् ।

विशेष रूपमा पत्रकार सुरेश रजकको राजसंस्था समर्थक प्रदर्शनको क्रममा भएको हत्या, र पत्रकार गजेन्द्र बुढाथोकीलाई चिनियाँ दूत चेन् सोंगबाट दिइएको धम्की उजागर गरिएको छ । महिला पत्रकार सबिना कार्की प्रहरीद्वारा प्रयोग गरिएको पानीको फोहरबाट घाइते भएकी थिइन्, जसले महिला पत्रकारहरूको थप जोखिमपूर्ण अवस्थालाई उजागर गरेको छ ।

कार्यक्रममा ‘कृत्रिम बौद्धिकता (एआई) र प्रेस स्वतन्त्रतामाथिको प्रभाव’ विषयमा अन्तरक्रियात्मक छलफल पनि सम्पन्न भयो । छलफलमा पत्रकार, सञ्चार तथा कानुनी विज्ञहरूले एआईको सम्भाव्यता र चुनौतीबारे बहस गर्दै सञ्चार साक्षरताको आवश्यकता र नीतिगत संरचना निर्माणको आवश्यकता औंल्याए ।

अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले मिडिया एक्सन नेपालको कामको प्रशंसा गर्दै भने, ‘यस्ता संस्थाहरू प्रेस स्वतन्त्रताको संरक्षणका लागि वाचडगको रूपमा क्रियाशील छन् । सरकार तथा सरोकारवाला निकायहरूले प्रतिवेदनका सिफारिसहरूलाई गम्भीर रूपमा लिनुपर्छ ।’

पन्तले मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकहरूलाई नागरिक समाजको परामर्शबिना अगाडि बढाउन खोज्नु अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीमाथि गम्भीर खतरा भएको बताए । पत्रकारको सुरक्षा कुनै एक क्षेत्रको मात्र नभई लोकतन्त्रको मौलिक आवश्यकतासँग गाँसिएको कुरामा उनले विशेष जोड दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री