सुनसरी । सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लाबाट ७ सय ८३ किलोग्राम गाँजासहितको ट्रक नियन्त्रणमा लिएको छ । उक्त ट्रकसँगै दुई जना व्यक्तिलाई समेत पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका-१३, निशाने डाँडास्थित कोशी लोकमार्गमा शङ्कास्पद अवस्थामा रहेको नम्बर प्लेट नभएको ट्रकलाई रोकेर जाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरिएको हो। ट्रकको ड्राइभर सिटमाथि विशेष बक्सा बनाएर २२ वटा पोकामा लुकाइछिपाइ ल्याइएको गाँजा फेला परेको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको ट्रकमा ‘ना ७ ख २८१’ नम्बर प्लेट फेला परेको छ । सो ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ निवासी ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटा सिदुवा नगरपालिका–६ निवासी १८ वर्षीय आकाश राईलाई समेत पक्राउ गरिएको हो ।
बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा बुधवार राति बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । उक्त घटनाको केही घण्टा अघि मात्र, बुधवार बिहान धनकुटास्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेशले ४ सय २१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो ।




