काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका-८ सुर्तीबारी नजिक सोमबार बोलेरो गाडी अनियन्त्रित भई अरुण नदीमा खस्दा तीन जना घाइते भएका छन् भने गाडी बेपत्ता भएको छ ।
संखुवासभाबाट धनकुटातर्फ जाँदै गरेको प्रदेश १-००२ च ४१०३ नम्बरको बोलेरो गाडीले पैदल यात्रुलाई ठक्कर दिएपछि सन्तुलन गुमाएर करिब ४० मिटर तल अरुण नदीमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बोलेरोमा चालकसहित दुई जना मात्र सवार थिए, जो दुर्घटनापछि हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।
दुर्घटनामा खाँदवारी नगरपालिका-९ का ४० वर्षीय रमेश राई, मकालु गाउँपालिका-५ याङ्सीमाका २० वर्षीय किरण गुरुङ र चैनपुर नगरपालिका-११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डे घाइते भएका छन्। घाइतेमध्ये रमेश राई बोलेरोका मालिकसमेत रहेको खुलेको छ । उनीहरूलाई तत्काल उद्धार गरी तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
घाइते ढोकरबहादुर पाण्डे भने दुर्घटनाको बेला पैदल यात्रामा रहेका थिए । तीव्र गतिमा रहेको बोलेरोले उनलाई ठक्कर दिएको र त्यसपछि गाडी नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।




