काठमाडौं । आम उपभोक्तालाई डिजिटल बैंकिङप्रति सचेत र आत्मविश्वासी बनाउन ज्योति विकास बैंकले नयाँ पहल थालेको छ। मातातिर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर बैंकले विशेष भिडियो सन्देश सार्वजनिक गर्दै डिजिटल बैंकिङको महत्वलाई जनमानसमा फैलाउने प्रयास गरेको हो।
भिडियोमा एक आमाको कथालाई समेटिएको छ। आमा सामाजिक सञ्जालमा निकै सक्रिय — छोरीका फोटोमा माया भरिएका कमेन्ट, रमाइला टिकटक भिडियो बनाउने, फेसबुकमा नियमित अपडेट — तर बैंकिङ जस्तो गम्भीर विषयमा भने अझै परम्परागत तरिकामा निर्भर। डिजिटल बैंकिङको कुरा आउँदा आमा डराउने र बैंककै शाखामा गएर कारोबार गर्न रुचाउने अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
छोरीले आमाको हात समाउँदै भावुक सन्देश दिन्छिन् : “हाम्रो हरेक कदममा आमा साथ थिइन्, हामीलाई सक्षम बनाइन्। अब हामीले आमालाई डिजिटल संसारमा अघि बढ्न सहयोग गर्नु पर्छ। डिजिटल ठगी र स्क्यामबाट बच्न सिकाउनुपर्छ।”
बैंकले उक्त भिडियोमार्फत डिजिटल वित्तीय सेवाप्रति आम नागरिकमा सहजता, विश्वास र सुरक्षाको भावना जगाउने लक्ष्य लिएको जनाएको छ। ज्योति विकास बैंकको यो प्रयासले डिजिटल वित्तीय शिक्षामा आम सर्वसाधारणलाई अझ नजिक ल्याउने अपेक्षा गरिएको छ ।



